SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Sunday, April 5, 2015

महिलाहरू कहाँ छन् ?

आजैको कार्यक्रम हेर्नुस्–
प्रमुख अतिथिको आसन मुन्तिर
पुरुषकै खुट्टाहरू हल्लिरहेका छन्
विशिष्ट पाहुनाको पिर्कामा
पुरुषकै घुँडाले पलेटी कसिरहेका छन्
सभा अध्यक्षको रातो ब्याज
पुरुषकै छातीमा गएर टाँसिएको छ
र उद्घोषक उभिएको पोडियममा पनि
पुरुषकै स्वर गरिरहेको छ ल्याङल्याङ ।


तपाईं चढेको बस हेर्नुस्–
भर्खरै तपाईंलाई धकेलेर पछाडि जाने रुखो हड्डी
त्यो पुरुषकै दाहिने हातको कुहिनो हो
महिला सिटमा आएर बसेको रक्सीको गन्ध
त्यो पुरुषकै स्वासनलीको उच्छवास हो
नक्कली कार्ड देखाएर उल्टै खलासीलाई थर्काइरहेको
त्यो पुरुषकै ओठको कम्पन हो
अन्तिम सिटमा बसेर मोबाइलमा अश्लील भिडियो हेरिरहेका
शिकारीका जस्ता ती जोर आँखा पुरुषकै हुन् ।


सत्ताको केन्द्रमा पनि हेर्नुस् अब एकपटक–
प्रधानमन्त्रीको कालो गद्दावाल कुर्चीमा
पुरुषकै बूढो चाक ढसमस्स बसिरहेको छ
सभामुखको डिजिटल माइकमा
पुरुषकै घाँटी बारम्बार खोकिरहेको छ
न्यायलयको सर्वोच्च धुरीमाथि
फडफडाइरहेका छन् पुरुषकै पखेटाहरू
र राष्ट्रपति कार्यालयको चारैतिर
फैलिरहेको छ पुरुष जातिकै गन्ध ।


म पनि हुँ एउटा पुरुष युवा
वैंशसहितको वयस्क ज्यान
अरे हो कविज्यू !
मलाई बताइदिनुस्–
यो देशमा महिलाहरू कहाँ छन् ?


    ०००
–सङ्गीतश्रोता
---------------
('कान्तिपुर कोसेली'मा २०७१ पुस १२ गते प्रकाशित)

Saturday, June 14, 2014

इच्छुकको इमेल

महेन्द्र पुलिस क्लब अगाडिको सडकमा
फेला परेको छ इच्छुकको इमेल

इमेल तिन बुँदे छ –

पहिलो बुँदामा छ कमरेड प्रचण्डको नाम
र कोरिएको छ पहेंलो मसीमा


राष्ट्रपति भवन जस्तो लाग्ने अमूर्त रेखाचित्र

दोस्रो बुँदामा सम्बोधन गरिएको छ श्री चैतन्यलाई
र लेखिएको छ चिनियाँ लिपीमा
कमरेड एमबी सिंहको अर्ध भूमिगत ठेगाना

तेस्रो बुँदामा छ रातो प्रश्नवाचक चिन्ह
जहाँ कमरेड आहुतिलाई सोधिएको छ –
‘तपाईं हिंडेको बाटो
कविताको हो कि पर्मानेन्ट पोलिट्ब्युरोको ?’

सडकमा अलपत्र भेटिएको इमेल
म कसको जिम्मा दिऊँ दोस्त ?

०००
–सङ्गीत श्रोता
(कान्तिपुर कोसेलीमा २०७१ जेठ २५ गते शनिबार प्रकाशित)

Monday, November 11, 2013

औंलाहरू

अनौ समातेर हलो जोत
बिंड समातेर कोदालो खन
डल्लेठो समाऊ र डल्ला फोर
कुटो समाऊ र माटो सम्याऊ
टुकटुके समाऊ र ढुंगा कुँद
बन्चरो समाऊ र दाउरा चिर
औंलाहरू गाइरहन्छन् लोकलय !
--------------------------
बीऊ रोप र झार गोड
धान झाँट र पराल छिट
कोदो निफन र धान बत्ताऊ
हाँतो समाऊ र जाँतो पिन
लुँडी समाऊ र ढिकी कुट
औंलाहरू नाचिरहन्छन् छमछमी !
------------------------------
बाबियो काट र जेउरी बाट
तान हाल र थर्कटी बुन
धागो कात र सुइटर बुन
नेती तान र मही पार
चोया काढ र डोको बुन
डाला, नाङ्ला र थुन्से बुन
औंलाहरू रमाइरहन्छन् हरक्षण !
-----------------------------
मुरली बजाऊ या सनही फुक
मादल मजाऊ या डम्फू ठोक
सारंगी रेट या ढोलकी ठोक
चुड्की बजाऊ या थपडी लगाऊ
औंलाहरू हाँसिरहन्छन् आँतैदेखि !

तर,
सुनको होस् या चाँदीको
हीराको होस् या मोतीको
औंलाहरू पटक्कै रम्दैनन्
औंठीको घेराबन्दीभित्र !
०००
२०७० वैशाख २७, कीर्तिपुर

Friday, August 10, 2012

गीत - यहाँसम्म आएँ

कस्तो बाटो हिंडेर म यहाँसम्म आएँ
भनीसाध्य छैन साथी कति गोता पाएँ

औंसी जस्तो अंध्यारोमा आँखा खोलें मैले
चारैतिर काँडेघारी चिच्याएछु पैले
पैलो गास आँसुसँगै चिसो स्याँठ खाएँ
भनीसाध्य छैन साथी कति गोता पाएँ


छातीभित्र उज्यालोको प्यास बोकी हिंड्दा
पहाडले पछार्दिन्थ्यो घस्रिन म खोज्दा
निराशाले जति थिच्छ उति आशा गाएँ
भनीसाध्य छैन साथी कति गोता पाएँ

जस्ले खुट्टा ताने पनि अघि मात्रै बढें
लडाइँ रैछ जीवन भन्नु बाटैभरि लडें
पानी पनि नपाउँदा फुको सातु खाएँ
भनीसाध्य छैन साथी कति गोता पाएँ

---
- सङ्गीत श्रोता
रचना : २०६१ साउन २९, सिम्पानी, पोखरा

गीत - आइपुगें म साल्मेडाँडा

फूल रोप्ने सपना बोकी हिंडिरहें काँडैकाँडा
हिंड्दाहिंड्दै, लड्दालड्दै आइपुगें म साल्मेडाँडा

ज्यान फालेर जोवन दिएँ, जोवनसँगै जुनी गयो
लाहुर–लाहुर भन्दाभन्दै मेरो सिंगो जुगै गयो
मलाई पछि धकेलेर संसार काट्यो सयौं डाँडा
आफ्नै खोजी गर्दै म त आएँ बल्ल साल्मेडाँडा

वनमाराले राज गर्‍यो, यता आफ्नो घरबारीमा
खुन–पसिना सिंचे मैले परायाको फूलबारीमा
टेक्नु परे आफ्नै लागि टेक्छु बरु सिउँडी काँडा
मनको कसम मनले खाँदै आइपुगें म साल्मेडाँडा

कसले खोस्यो आफ्नोपन, कसले लुट्यो जिन्दगी यो
नथाक हो, खोज अब भनिरहेछ गण्डकी यो
उन्मुक्तिको प्यास मीठो फैलिरहेछ डाँडैडाँडा
नौलो बाटो खोज्दै बल्ल आइपुगें म साल्मेडाँडा

फूल रोप्ने सपना बोकी हिंडिरहें काँडैकाँडा
बेग्लै नयाँ लडाइँ लड्न आइपुगें म साल्मेडाँडा

---
-सङ्गीत श्रोता
(रचना : २०६९ जेठ २४, कीर्तिपुर)
बाजुङ, पर्वत

Tuesday, November 15, 2011

म कवि बन्न चाहन्नँ

-सङ्गीतश्रोता

कविता पढिरहन्छु म सधैं
लेख्न पनि खोज्छु कहिलेकाहीं
तर
पटक्कै मन छैन मलाई
छाप्न कुनै कविताको पुस्तक

मलाई थाहा छ
पुस्तकमा उल्लेख गर्नुपर्छ
लामो लामो बायोडाटा
बाआमाका ख्यातीप्राप्त नामथर
प्राप्त पुरस्कार र सम्मानको सूिच
भ्रमण गरेका शहरहरुको नाम
विश्वविद्यालयले दिएका डिग्री
र संघसंस्थासँगको सम्बद्धता…
त्यो केही पनि छैन मसँग

मलाई थाहा छ
पुस्तकमा लेखाउनुपर्छ मैले
अग्रज समालोचकबाट गम्भीर विवेचना
वा वरिष्ठ साहित्यकारबाट सटिक टिप्पणी
भन्न लगाउनुपर्छ प्रोफेसरका मुखबाट
'यो हो इतिहासको कोसेढुंगा'
वा छपाउनुपर्छ अखबारहरुमा शृंखलाबद्ध
'चर्चित' 'बहुचर्चितु'समीक्षा
यस्तो धन्दामा प्रवेश गर्नका लािग
अनुभव र अभ्यास केही पनि छैन मसँग

मलाई थाहा छ
पुस्तकको आत्मकथ्यमा
भन्नैपर्नेछ मैले अभिमानपूर्वक-
कविता लेख्नु चानचुने कर्म होइन
कविता लेख्नु
किसानले हलो जोत्नु जस्तै हो
मजदुरले मेसिन चलाउनु जस्तै हो
कविता लेख्नु
युद्ध लड्नु जस्तै गाह्रो छ
प्रसव वेदना सहनु जस्तै कष्टकर छ
वा यी यावत् कर्महरुभन्दा पनि
श्रमशील र सुन्दर छ
र भन्नुपर्नेछ मैले गम्भीरतापूर्वक
एक टुकडी सेनाभन्दा
शक्तिशाली हुन्छ एक कविता

हो यस्तै भन्न आउँदैन मलाई आँट
यहींनेर मेल खाँदैन कवितासँग मेरो जीवन
म कसरी ढाँट्न सक्छु आफैले भोगेको यथार्थ
हजुरबाले हलो जोतेकै हुन् जीवनभर
तर त्यो कविता भएन
र आज कसैले मनाउँदैन उनको शतवार्षिकी
बाले थला परुन्जेल मजदुरी गरेकै हुन्
त्यो पनि कविता भएन
र कसैले छापेन श्रद्धााजली उनको मृत्युमा
दिदी युद्धमा छँदै बेपत्ता पारिएकी हुन्
त्यो कविता हुन्थ्यो भने
आज छािपंदो हो उनको जीवनमािथ
कुनै साहित्यिक पत्रिकाको विशेषांक
आमाले दशपटकसम्म सहिन् सुत्केरी बेथा
तर कसैले भनेने उनलाई 'कविज्यू'
र मैले पनि बनाउन सकिनँ
आमाको नाममा एउटा स्मृति प्रतिष्ठान

यसकारण
सधैं पढिरहेको भए पनि
वा कहिलेकाहीं लेख्न खोजेको भए पनि
मलाई पटक्कै मन छैन
छाप्न कुनै कविताको पुस्तक
छापिन थाले भने
मेरा पनि काव्य र महाकाव्य
म घेरिन थाल्नेछु
कवि बन्ने प्रबल खतराहरुबाट
र मृत्युपछि पनि
छाडेर सारा आफन्तहरुलाई गुमनाम
ठडिन थाल्नेछ मेरै सालिक मुलसडकमा ।

२०६८ कात्तिक २८ कीर्तिपुर

Thursday, September 22, 2011

कुर्कुच्चा

-सङ्गीतश्रोता

मेरी आमासँग
कुर्कुच्चामात्रै छन्
चर्चरी चिरिएका
पि्रय कमरेड !
जुत्ता हान्ने खतरा छैन
जाउष हाम्रो किरेडाँडातिर ।

म काठमाडौं िहंडेपिछ
सुन्छु- आत्तिनुभएको छ आमा
बुढेसकालमा एक्लै हुँदा
दुःखी हुनुभए होला
दुःखी हुँदा मुख छोपेर रुनुहुन्थ्यो आमा
मैले
घरतिर फर्केर नचिहाउँदा
रिसाउनु पो भयो कि !
आमा रिसाउँदा
दाह्रा किटेर भन्नुहुन्थ्यो-
"लात्तीले मुखमा टेक्छु !"

यसपाली घर जाँदैछु म
यो जाडोमा
भुट्नुहुनेछ आमाले मकैभट्ट
र थपिदिनुहुनेछ गिलासभरि बाक्लो मही
म जाँदा
पक्कै खुसी हुनुहुनेछ आमा
छेउमै बसेर सुनाउनुहुनेछ
यसपाली कसकसले साँध मिचे
को को झगडा गर्न आँगनमै आए
घरमाथि कसले बसा्रए ढुंगामुढा
पर्दैैन पत्रकार सम्मेलन गर्न
चािहंदैन कुनै प्रवक्ता
आमा आफैले
सबै बेलिबिस्तार लगाउनुहुनेछ ।

मेरी आमासँग
दुई हात छन् ठेला उठेका
र कुर्कुच्चा मात्रै छन्
चर्चरी चिरिएका
पि्रय कमरेड !
जुत्ता हान्ने खतरा छैन
जाउष हाम्रो किरेडाँडातिर
यसपाली म पनि जाँदैछु
आउनुहोस्
जाऊँ हाम्रो किरेडाँडातिर !

(इराकी पत्रकार मुन्तजार अल जैदीले १४ डिसेम्बर सन् २००८ मा बगदादमा आयोजित पत्रकार सम्मेलनमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसमाथि जुत्ता प्रहार गरेपछि लेखिएको । जतिबेला संविधानसभा चुनाबको नतिजापश्चात काठमाडौं छिरेका नेपाली राजनीतिज्ञहरु बिस्तारै गाउँलाई बिस्रंदै र बेवास्ता गर्दै थिए ।)