SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Tuesday, November 15, 2011

म कवि बन्न चाहन्नँ

-सङ्गीतश्रोता

कविता पढिरहन्छु म सधैं
लेख्न पनि खोज्छु कहिलेकाहीं
तर
पटक्कै मन छैन मलाई
छाप्न कुनै कविताको पुस्तक

मलाई थाहा छ
पुस्तकमा उल्लेख गर्नुपर्छ
लामो लामो बायोडाटा
बाआमाका ख्यातीप्राप्त नामथर
प्राप्त पुरस्कार र सम्मानको सूिच
भ्रमण गरेका शहरहरुको नाम
विश्वविद्यालयले दिएका डिग्री
र संघसंस्थासँगको सम्बद्धता…
त्यो केही पनि छैन मसँग

मलाई थाहा छ
पुस्तकमा लेखाउनुपर्छ मैले
अग्रज समालोचकबाट गम्भीर विवेचना
वा वरिष्ठ साहित्यकारबाट सटिक टिप्पणी
भन्न लगाउनुपर्छ प्रोफेसरका मुखबाट
'यो हो इतिहासको कोसेढुंगा'
वा छपाउनुपर्छ अखबारहरुमा शृंखलाबद्ध
'चर्चित' 'बहुचर्चितु'समीक्षा
यस्तो धन्दामा प्रवेश गर्नका लािग
अनुभव र अभ्यास केही पनि छैन मसँग

मलाई थाहा छ
पुस्तकको आत्मकथ्यमा
भन्नैपर्नेछ मैले अभिमानपूर्वक-
कविता लेख्नु चानचुने कर्म होइन
कविता लेख्नु
किसानले हलो जोत्नु जस्तै हो
मजदुरले मेसिन चलाउनु जस्तै हो
कविता लेख्नु
युद्ध लड्नु जस्तै गाह्रो छ
प्रसव वेदना सहनु जस्तै कष्टकर छ
वा यी यावत् कर्महरुभन्दा पनि
श्रमशील र सुन्दर छ
र भन्नुपर्नेछ मैले गम्भीरतापूर्वक
एक टुकडी सेनाभन्दा
शक्तिशाली हुन्छ एक कविता

हो यस्तै भन्न आउँदैन मलाई आँट
यहींनेर मेल खाँदैन कवितासँग मेरो जीवन
म कसरी ढाँट्न सक्छु आफैले भोगेको यथार्थ
हजुरबाले हलो जोतेकै हुन् जीवनभर
तर त्यो कविता भएन
र आज कसैले मनाउँदैन उनको शतवार्षिकी
बाले थला परुन्जेल मजदुरी गरेकै हुन्
त्यो पनि कविता भएन
र कसैले छापेन श्रद्धााजली उनको मृत्युमा
दिदी युद्धमा छँदै बेपत्ता पारिएकी हुन्
त्यो कविता हुन्थ्यो भने
आज छािपंदो हो उनको जीवनमािथ
कुनै साहित्यिक पत्रिकाको विशेषांक
आमाले दशपटकसम्म सहिन् सुत्केरी बेथा
तर कसैले भनेने उनलाई 'कविज्यू'
र मैले पनि बनाउन सकिनँ
आमाको नाममा एउटा स्मृति प्रतिष्ठान

यसकारण
सधैं पढिरहेको भए पनि
वा कहिलेकाहीं लेख्न खोजेको भए पनि
मलाई पटक्कै मन छैन
छाप्न कुनै कविताको पुस्तक
छापिन थाले भने
मेरा पनि काव्य र महाकाव्य
म घेरिन थाल्नेछु
कवि बन्ने प्रबल खतराहरुबाट
र मृत्युपछि पनि
छाडेर सारा आफन्तहरुलाई गुमनाम
ठडिन थाल्नेछ मेरै सालिक मुलसडकमा ।

२०६८ कात्तिक २८ कीर्तिपुर