SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Friday, August 10, 2012

गीत - यहाँसम्म आएँ

कस्तो बाटो हिंडेर म यहाँसम्म आएँ
भनीसाध्य छैन साथी कति गोता पाएँ

औंसी जस्तो अंध्यारोमा आँखा खोलें मैले
चारैतिर काँडेघारी चिच्याएछु पैले
पैलो गास आँसुसँगै चिसो स्याँठ खाएँ
भनीसाध्य छैन साथी कति गोता पाएँ


छातीभित्र उज्यालोको प्यास बोकी हिंड्दा
पहाडले पछार्दिन्थ्यो घस्रिन म खोज्दा
निराशाले जति थिच्छ उति आशा गाएँ
भनीसाध्य छैन साथी कति गोता पाएँ

जस्ले खुट्टा ताने पनि अघि मात्रै बढें
लडाइँ रैछ जीवन भन्नु बाटैभरि लडें
पानी पनि नपाउँदा फुको सातु खाएँ
भनीसाध्य छैन साथी कति गोता पाएँ

---
- सङ्गीत श्रोता
रचना : २०६१ साउन २९, सिम्पानी, पोखरा

गीत - आइपुगें म साल्मेडाँडा

फूल रोप्ने सपना बोकी हिंडिरहें काँडैकाँडा
हिंड्दाहिंड्दै, लड्दालड्दै आइपुगें म साल्मेडाँडा

ज्यान फालेर जोवन दिएँ, जोवनसँगै जुनी गयो
लाहुर–लाहुर भन्दाभन्दै मेरो सिंगो जुगै गयो
मलाई पछि धकेलेर संसार काट्यो सयौं डाँडा
आफ्नै खोजी गर्दै म त आएँ बल्ल साल्मेडाँडा

वनमाराले राज गर्‍यो, यता आफ्नो घरबारीमा
खुन–पसिना सिंचे मैले परायाको फूलबारीमा
टेक्नु परे आफ्नै लागि टेक्छु बरु सिउँडी काँडा
मनको कसम मनले खाँदै आइपुगें म साल्मेडाँडा

कसले खोस्यो आफ्नोपन, कसले लुट्यो जिन्दगी यो
नथाक हो, खोज अब भनिरहेछ गण्डकी यो
उन्मुक्तिको प्यास मीठो फैलिरहेछ डाँडैडाँडा
नौलो बाटो खोज्दै बल्ल आइपुगें म साल्मेडाँडा

फूल रोप्ने सपना बोकी हिंडिरहें काँडैकाँडा
बेग्लै नयाँ लडाइँ लड्न आइपुगें म साल्मेडाँडा

---
-सङ्गीत श्रोता
(रचना : २०६९ जेठ २४, कीर्तिपुर)
बाजुङ, पर्वत