SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Friday, August 10, 2012

गीत - आइपुगें म साल्मेडाँडा

फूल रोप्ने सपना बोकी हिंडिरहें काँडैकाँडा
हिंड्दाहिंड्दै, लड्दालड्दै आइपुगें म साल्मेडाँडा

ज्यान फालेर जोवन दिएँ, जोवनसँगै जुनी गयो
लाहुर–लाहुर भन्दाभन्दै मेरो सिंगो जुगै गयो
मलाई पछि धकेलेर संसार काट्यो सयौं डाँडा
आफ्नै खोजी गर्दै म त आएँ बल्ल साल्मेडाँडा

वनमाराले राज गर्‍यो, यता आफ्नो घरबारीमा
खुन–पसिना सिंचे मैले परायाको फूलबारीमा
टेक्नु परे आफ्नै लागि टेक्छु बरु सिउँडी काँडा
मनको कसम मनले खाँदै आइपुगें म साल्मेडाँडा

कसले खोस्यो आफ्नोपन, कसले लुट्यो जिन्दगी यो
नथाक हो, खोज अब भनिरहेछ गण्डकी यो
उन्मुक्तिको प्यास मीठो फैलिरहेछ डाँडैडाँडा
नौलो बाटो खोज्दै बल्ल आइपुगें म साल्मेडाँडा

फूल रोप्ने सपना बोकी हिंडिरहें काँडैकाँडा
बेग्लै नयाँ लडाइँ लड्न आइपुगें म साल्मेडाँडा

---
-सङ्गीत श्रोता
(रचना : २०६९ जेठ २४, कीर्तिपुर)
बाजुङ, पर्वत

1 comment:

  1. Just put SANGEET SROTA'S BLOG under the heading of this site, mr. comrade!

    ReplyDelete