SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Monday, November 11, 2013

औंलाहरू

अनौ समातेर हलो जोत
बिंड समातेर कोदालो खन
डल्लेठो समाऊ र डल्ला फोर
कुटो समाऊ र माटो सम्याऊ
टुकटुके समाऊ र ढुंगा कुँद
बन्चरो समाऊ र दाउरा चिर
औंलाहरू गाइरहन्छन् लोकलय !
--------------------------
बीऊ रोप र झार गोड
धान झाँट र पराल छिट
कोदो निफन र धान बत्ताऊ
हाँतो समाऊ र जाँतो पिन
लुँडी समाऊ र ढिकी कुट
औंलाहरू नाचिरहन्छन् छमछमी !
------------------------------
बाबियो काट र जेउरी बाट
तान हाल र थर्कटी बुन
धागो कात र सुइटर बुन
नेती तान र मही पार
चोया काढ र डोको बुन
डाला, नाङ्ला र थुन्से बुन
औंलाहरू रमाइरहन्छन् हरक्षण !
-----------------------------
मुरली बजाऊ या सनही फुक
मादल मजाऊ या डम्फू ठोक
सारंगी रेट या ढोलकी ठोक
चुड्की बजाऊ या थपडी लगाऊ
औंलाहरू हाँसिरहन्छन् आँतैदेखि !

तर,
सुनको होस् या चाँदीको
हीराको होस् या मोतीको
औंलाहरू पटक्कै रम्दैनन्
औंठीको घेराबन्दीभित्र !
०००
२०७० वैशाख २७, कीर्तिपुर